Featured Post

4 Awesome Life Hacks & Creative Science Experiments

  4 Awesome Life Hacks & Creative Science Experiments Hello science and tech lovers, here are 4 Awesome Life Hacks & Creative Scienc...

Thursday, March 1, 2012

कथा: सिरु

                                                                                                                       -By Pradeep Gautam
“बाबा.. बाबा.., हेर्नु त टिभीमा ममी आउनु भको, छिट्टो हेर्नु न,”
दिनभरी घरबारीको कामले लखतरान भएर पिढीको पुरानो खाटमा बिस्राम लिन नपाउदै सुरेन्द्रको सानो छोरो उत्साहित हुँदै झक्झक्याउन आइपुग्यो।
?”हैन के भो, को आयो टिभीमा
“हेर्नु न पहिले”
अबोध आफ्नो छोराको अपत्यारिलो हाउभाउले सुरेन्द्र उठ्न वाध्य भयो।
सुरेन्द्र गुनगुनाउदै भित्र पस्यो।
नेपाल टेलिभिजनबाट साँझ ८ बजेको समाचार आइरहेको थियो।
“हो त हेर त तेरी ममी टिभीमा,” उत्साहित हुँदै सुरेन्द्र टिभीनेर उभियो।
आफ्नी श्रीमतीलाई टेलिभिजनको मुख्य समचारमा देखेर सुरेन्द्रको कौतुहल झनै बढ्यो।
कान ठाडा बनायो, आँखा उप्कायो, अनि समाचार सुनिरह्यो।
?ममीलाई किन देखाको र बाबा”
अबोध छोराको निस्कपट प्रश्नले उ झसँग भयो।
सुरेन्द्र बिस्तारै पछि हट्यो, छोराको हात समायो, उसका आँखा ढाक्न खोज्यो, अनी टिभीको तार बेस्सरी तान्यो।
टिभी निभ्यो। आफ्नी श्रीमती सिरुको समाचार सुनेपछी सुरेन्द्र एकोहोरो टोलाइरह्यो, टाउको भारी भएर आयो, मनभित्र हजारौं कुराहरू जोडतोड गर्दै एकै पटक बिस्पोटक हुँदै आइरहे, सुरेन्द्र केवल बर्बरायो आफैभित्र।

?बाबा, किन रुनु भको”
बलिन्द्रधारा आसुहरू लुकाउन खोज्दै उ आफूलाई सम्हाल्न खोज्यो, तर सपनाजस्तो लाग्ने समाचारले उसका सबै खुशीहरू बिछिप्त बनाई धुजा-धुजा परिरहेको थियो।
सिरु अर्थात सुरेन्द्रकी अर्धाङिनि। काभ्रेको एक गाऊको स्कुलमा ११ कक्षा पढ्दा पढ्दै ६ बर्षअघी भागेर बिहे गरेका थिए सुरेन्द्र र सिरुले। दुई जनाको सानो संसार, हसिलो जिन्दगी अनी दु:ख सूख गर्दै कटाइरहेका थिए।
स्कुल पढ्दा बैसालु सिरुको मुस्कानमा लोभिने धेरै थिए। रातो रिबनले दुई चुल्ठा बाटेर, टम्म परेको जिउमा स्कुलको निलो सर्ट र निलो फ्रक लगाएर हिड्दा गाऊका बुढा खाडा पनि पर सम्म नियालेर हेरिरहन्थे सिरुलाई। सिरु, सच्चिकै राम्री थियी, हसिली थियी, मायालु थियी, अनी धेरैको सपनामा आउने परी जस्तै थियी।
सिरुको रोजाइमा फेरि एउटै मान्छे थियो, सगै पढ्ने सुरेन्द्र। साच्चिकै रसिलो र मनमोहक प्रेम थियो उनिहरुको त्यो भर्भराउदो उमेरमा । गाऊलेहरूले उनीहरू दुईको धेरै चियो चर्चो गर्न थालेपछि, सिरुको कथित उपल्लो जातको परिवारले जातियताको कुरा उठाएर सुरेन्द्रको परिवारलाई धम्क्याउन थल्यो। घर परिवार दुबैजनाका दुस्मन भैसकेकोले उनीहरुसामु अब धेरै बिकल्प रहेको थिएन। यत्तिकैमा समाज परिवार सबै त्यागेर दुई मुटु एक हुने कसम खाँदै भागी बिबाह गरेर सुरेन्द्र र सिरु छिमेकी गाऊमा बस्न गएका थिए।
दुबै परिवारदेखी टाढा थिए, परिवारसित कुनै सम्बन्ध थिएन। गाऊको सानो संसारमा उनीहरूका ठुला ठुला रहरहरू थिए। दुबैले धेरै काम गर्ने, पैसा जोड्ने अनी सदरमुकाममा गएर एउटा जग्गा किन्ने, सानो छाप्रो हाल्ने, एउटा पसल् खोलेर धेरै मेहनत गर्ने, आफूलाई पुग्ने पैसा र एउटा राम्रो घर बनाउने र सुखी जिन्दगी जिउने ..यस्तै यस्तै। उनिहरुको जिन्दगीमा अब बुढेस्कालको साहारा पनि थपियो। बिहे गरेको पहिलो बर्षमै छोरो जन्मियो। उनिहरुको खुशी अझ थपियो।
सुरेन्द्र र सिरु केवल खुशी थिए , एक अर्कामा रमाइरहेका थिए। एक अर्काको पवित्र माया थियो र न्यानो साथ् थियो तर जिन्दगी केवल साथ र खुशीले मात्र पनि टर्दो रहेनछ। पैसा पनि चाहिदो रहेछ् त्यो खुशी लाई टिकाइरख्न। शहरमा एउटा पसल खोल्न र छाप्रो हाल्न यो महँगो संसारमा चाहेर मात्र केही हुने थिएन। बिचरा दुई जनाका साहारा पनि कोहि थिएनन। आफ्नो परिवार आफू भागेर बिहे गरेदेखिनै अपरिचित र बिरानो भैसकेको थियो। उनिहरुलाई ढाडस दिने कोहि भएन। दुबैजना परिवार देखि टाढा बस्दा मलिन त थिए तर दुखी थिएनन किनकी एक अर्का प्रतिको विश्वाशनै उनिहरुकालागी सबथोक थियो।
अर्काको पाखाबारीमामा काम गरेकै भरमा सुरेन्द्र र सिरुले आफ्नो सपना पूरा गर्न सक्ने स्थिति थिएन। छोरो पनि हुर्किदै थियो। ताते ताते गर्दै तोते बोल्न थालिसक्यो तर अझै न त उनिहरूले एउटा घर जोड्न सकेका थिए न त पाखोबारी नै। सुरेन्द्र कहिलेकाही त कतार वा साउदी अरबमा गएर आफ्नो पसिना बेचेर आफ्नी सिरुको हातमा नयाँ चुरा, छोराको लागी नयाँ भोटो फेर्ने अनी केही पैसा जोड्जाम पारेर फर्किने नसोचेको पनि हैन। तर आफ्नो एक्लो साहारा सिरु र काखमा रमाइरहेको नाबालक छोराको अगाध प्रेमले देश त के गाऊ छोड्ने पनि आँट गर्न सकेन सुरेन्द्रले।
दिनहरू बित्दै गए, सुरेन्द्र र सिरुले गरिबीमा जिन्दगी बिताइरहे। आफ्ना छरछिमेकी कोहि शहर त कोहि बिदेश गएर पैसा कमाएर प्रगति गरेको देख्दा दुबैका मनमा अब केही त्याग गर्नु पर्छ र आफ्नो दयनिय गरिबी मा अल्झिएको जिन्दगीलाई केही माथी उठाउनु पर्छ भन्ने सोच पलाउन थाल्यो। यसैबिच सिरुले एउटा प्रस्ताब ल्याइ। सिरु आफू काठमाडौं गएर आफ्नो एकजना चिनेको मान्छेको ब्युटी पार्लरमा काम र तालिम दुबै गर्ने र बचेखुछेको पैसाले पाखोबारी किन्ने अनी पछि सबै बेचेर शहरमा आफ्नै पसल गरेर सुखी जिन्दगी बिताउने। तर सिरुको प्रस्ताब सुरेन्द्रकालागि असहज थियो किनकी सुरेन्द्र कुनै हालतमा सिरुलाई एक्लै काम गर्न पठाउने पक्षमा थिएन। वास्तविकता फेरि फरक थियो, सुरेन्द्रसँग न त पढाइ थियो न त कुनै सिप नै र बिना कुनै क्षमता ….अन्धकारमा शहर पस्दैमा पैसा कमिदैन भन्ने दुबैलाइ राम्रै सँग थाहा थियो।
धेरै समयको छलफलपछी सुरेन्द्र गाउँमा पाखोबारी र छोरो हुर्काएर बस्ने सिरुले शहरमा गएर पैसा कमाएर पठाउने सहमती भयो। सिरु काठमाडौं हानियी आफ्नो प्यारो श्रीमान र एक्लो छोराको मायालाई आसुँ बनाएर बगाउदै। बिदाइको हात हल्याउन सुरेन्द्रलाई साह्रै पिडाबोध भैरहेको थियो। बाबु छोरा धेरै रात कोल्टे फेर्दै सिरुको यादमा कटाइरहे केवल सुन्दर दिनको पर्खाइमा।
अब सिरुको संघर्ष काठमाडौंको खल्टोमा सुरु भयो। उसको एउटै लक्ष्य थियो छिट्टै पैसा कमाएर घर फर्किने। तर उसलाई अझै सम्म पत्तो थिएन की एउटा नारीलाई आफ्नो परिवारको साथबिना यो बिसाल, अस्तबेस्थ र भिडहरूको शहरमा संघर्ष गरेर पैसा कमाउन कति पीडा हुन्छ भनेर। सिरुले ब्युटी पार्लरको काम सुरु गरी। तर उसलाई केही नआउने हुनाले, खाना र बस्न दिएर थोरै पकेट खर्चमा काममा लगाइरहेकी थियी साहुनीले। समय बित्दै गयो। आफ्नो बुढा र छोराको याद आएपनि सिरु पैसा नकमाउन्जेल गाउँ नफर्किने बाचा गरेकी थियी। ब्युटी पार्लरको काम गर्दै जाँदा उसलाई धेरै कुराहरू थाहा हुन थाल्यो। बाहिर-बाहिर ब्युटी पार्लर भएपनि त्यसभित्रका रात्री रङिँन जीवनभित्र लुकेको पैसाको बाढीमा सिरु अनायसै अकर्सित हुन पुगी।
जसको पढाई र सीप दुबै छैन उसको सोझो हिसाबले पैसा नकमिदो रहेछ भन्ने भ्रमित र लाचारी कुरा उसका रङिन जीवन बिताउने सङीहरूले सिकाइरहेका थिए। अली-अली कमाएको पैसा गाऊमा पठाउन पनि भ्याएकी थियी सिरु। साहुनीले सिरुलाई रात्री जीवनका ग्राहकबाट आउने पैसा र केवल ब्युटी पार्लरमा नङ पालिस लगाएर आउने पैसाको अन्तरबारे धेरै बताइसकेकी थियी। १ बर्ष सोझो हिसाबले काम गर्दा खान लाउन पनि नपुग्ने अवस्था आएपछी सिरु आफ्नो घर समाज लाई केही समय तिलान्जली दिने अनि अली पाकेट मोटो भएपछी त्यो काम चटक्कै छोडेर गाऊ फर्किने अठोट गरी।
सिरु उसका सङीहरू जस्तै शहरका यौन पिपासुहरूका प्यास मेट्न हिच्किच्याउन छाडी। नभन्दै, सिरु एक बर्षसम्ममा नकमाएको र नदेखेको पैसा एक महिनामै पोल्टाभरी पारी। दरबार मार्गको ब्युटी पार्लर भनेर होर्डिङबोर्ड राखेराखेपनि भित्र-भित्र अर्कै तरुनी खेती हुन्छ भन्ने धेरै जसो ग्राहकलाई पनि थाहानै थियो।
सुरेन्द्र उता गाउँमा मख्ख थियो किनकी आफ्नी श्रीमतीले काम र मेहनत गरेर पैसा पठाइरहेकोले अब आफ्नो जीवनस्तर उठ्छ र आफूहरूको शहरमा गएर बिजनेस गर्ने सपना पूरा हुने कुरामा ढुक्क थियो। जिन्दगी संघर्स हो, केही पाउन लाई केही गुमाउनु पर्छ, भन्ने भनाइलाई मनभित्र गडाएर आफ्नो चित्त बुझाएर बसेको थियो सुरेन्द्र। बिचरा सुरेन्द्रलाई के थाहा आफ्नी सिरु दरबारमार्गका रात्री जीवनहरूमा पुरै डुबिसकेकी थियी, मात्तियकी थीयी अनि वाइन बियर र चुरोटको नसा नसामा जम्मा गरेको पैसा देखेर मक्ख थियी भनेर। अब सिरु सुरेन्द्रलाई माया गर्ने उही सिरु थीइन, सुरेन्द्रको लागि धेरै काहाली लाग्ने संसारमा रुमलीयीसकेकी सिरु थियी।
समय सधैं एकैनासको चाहेर पनि कहाँ हुन सक्थ्यो र? सुराकीको आधारमा एकदिन नगर प्रहरीले सिरुले काम कथित ब्युटी पार्लरमा छापा मार्यो। वरिपरि भिडियो र क्यामराका फ्लाशहरू उनै अर्ध बस्त्र र अर्ध-नग्न २२/२५ बर्ष जतिका देखिने सिरु र उसका साथीहरूतर्फ सोझिइरहेका थिए। कोहि मुख ढाक्दै र कोहि लाज ढाक्दै क्यामेराबाट भाग्दै थिए। सिरु लगाएतका अरु केटीहरू सारा दुनियाँको घरघरमा अती लज्जित र घ्रिणायुक्त समाचार सहित कलन्कित भैसकेको मुहार लिएर समाचारमा छाइरहेका थिए। सिरु रोइरहेकी थियी र उसको अनुहार आफ्नो श्रीमान, छोरो लगाएत लाखौं मान्छेले प्रतक्ष्य हेरिरहेका थिए। पैसाका लागि आफ्नो अस्मिता बजारमा बेच्ने सिरुका आँखाका आशुहरुमा कुनै पनि सचेत आत्माका सह्रिदयी सहानुभुति कदापी पर्ने थिएनन। सिरुले आफ्नो मुख छोपी, आफ्नो कलिलो तोते गरेर ‘ममी’ भनेर बोलाउने छोराको निस्चल मुस्कान सम्झी, आफू भन्दापनि धेरै माया गर्ने आफ्नो निस्कपट श्रीमान सम्झी, पैसाकोलागी आफूले गरेको अक्षम्य पाप र कलंक सम्झी अनि असैह्य पस्चताप र बेहोशीमा छटपटियी।
यता सिरुको कर्तुत संगै सुरेन्द्र र उस्को छोराको जिन्दगी पनि झरेको ताराजस्तै भैसकेको थियो। बाबु छोराका आँखाबाट खसेका अबिरल आसुहरू पुरै रातभर रोकिदै रोकिएनन्। भिजिरहे। उसको छोरो अझै बेलुका देखिनै बेचैन थियो र सोधिरहेको थियो, “बाबा ममी किन टिभीमा देखिनु भएको ? अनि ममी कहीले आउनु हुन्छ र बाबा? बाबा किन रुनु भएको?” सुरेन्द्रसँग उसको छोराका निर्दोश प्रश्नहरुको कुनै जवाफ थिएन। उ अब भोलीको दिनले ल्याउने प्रलयलाई कुर्दै आधा रात कटायो। बिहान झिस्मिसेमा होहल्ला सहित सारा गाउँ सुरेन्द्रको घरतर्फ लम्कियो। संसारभरी आफ्नो गाउँको बद्नाम गर्ने सिरुको परिवारलाई गाउँबाट लखेट्न सबैजना सुरेन्द्रको आंगनमा एक एक गर्दै जम्मा हुन थाले।
सुरेन्द्रको सपनाको सानो संसार बन्न नपाई क्षणभरमा नै भत्किसकेको थियो । बाबु र छोरा भालेको डांकसगै सदाकालागी घर छोडिसकेका थिए।
Published in Mysansar: See this story in mysansar
Published in DCNepal: See this story in Dcnepal

No comments:

Post a Comment