Featured Post

4 Awesome Life Hacks & Creative Science Experiments

  4 Awesome Life Hacks & Creative Science Experiments Hello science and tech lovers, here are 4 Awesome Life Hacks & Creative Scienc...

Monday, November 21, 2011

कथा: सुबोध, अप्सरा अनि अमेरिकी घर


"My boss has organized a party at the restaurant, so I will be little late ok?” यति भनेर अप्सराले टेक्स्ट पठाई आफ्नो लोग्ने सुबोधलाई । असहज अनुहार बोकेरै भएपनि "ओके" मात्रै लेखेर पठायो सुबोधले । आज शनिबार  सुबोधको छ दिने गोरु जोताइपछीको बिश्राम गर्ने दिन। एकै छिनमा एउटा कल आयो "सुबोध बेटा, एक बात सुनो, कल तुम जल्दी आना, ओ दुस्रा बन्दा बिमार होगया यिसिलिये", "ठिक है भाई साहेब" यति भन्दै सुबोधले फोन राख्यो। भारी मन लिएर सुबोध किचन तिर पस्यो। "अलिकति पैसा बच्यो भने त यो धोतीको ग्यास स्टेसन लात हानेर हिड्छु, आफ्नो त केही पनि चल्दैन यार। सधैं नोकर जस्तो भएर बस्नु पर्ने त्यो पनि ग्रीन कार्ड भएको मन्छे।" हल्का क्रोध मिश्रित बदलाको भावना लिएर फत्फताउदै बेडतिर फोन हुरर्‍याएर शान्त पार्न खोज्यो आफ्नो क्रोध । सुबोध! हो, त्यहि सुबोध जो  अमेरिकाको  डि.भि. भरेर  छ बर्ष अघि सपनाको देशमा सगरमाथा भन्दा अग्ला सपनाहरु बुनेर आएको थियो। गाऊमा सरकारी स्कुल पछि आर. आर. क्याम्पसमा स्नातक तिर हल्लिने क्रममा अमेरिकाको ग्रीन कार्ड पाउने शुभ समाचार सुन्दा सुबोध कम्ता खुशी थिएन। सच्चिकै भन्नुपर्दा सुबोध त्यहि नेपालमा बिताएका अन्तिम बर्षमा सबैभन्दा खुशी भएको थियो। अमेरिकामा आएपछि पनि उसले हल्का फुल्का डलर जोडेकै थियो, एउटा दश वर्ष पुरानो भएपनि जापानीज  होण्डा कारमा चढेको थियो, घरमा नेपालको जस्तो लोडसेडिङ थिएन, तातोपानी, ए. सी. , हिटर सबै चलेकै थियो, श्रीमतीको पनि साथ थियो तर एउटा कुराको साह्रै कमी थियो - मनभित्रको खुशी। सुबोध बिगत छ बर्ष देखि शायदै धित मारेर हाँसेको होस।

अमेरिका टेकेको पहिलो दिनमा एअरपोर्टबाट कोठामा जाने समयमा देखेका गगनचुम्बी भवनहरु, काठमाडौंको पुतलीसडकतिर साइबर बस्दा देखेका तस्बिरहरुभन्दा पनि आकर्षक रहरलाग्दा पुलहरु, फराकिलो बाटो, सफा शहर, चिल्ला गाडीहरु देख्दा  मनमनै खुबै भाग्यशाली ठानेको थियो सुबोधले आफुलाइ। यसैबिच सुबोधको मानसपटलमा काठमांडौका फोहोरका थुप्राहरु सम्झेर एकपटक नेताहरुलाईपनि धिक्कार्न भ्यायो। हुन पनि साच्चिकै अमेरिका त्यसै अमेरिका भएको थिएन।
तर सुबोधको त्यो खुशी एक हप्तामै निमिट्यान्न पर्‍यो जब उसले अमेरिकी कर्मभुमिमा आफ्नो कामको श्रीगणेश एउटा ईण्डियन रेस्टुराँबाट गर्‍यो। हुन त कामगर्दा कोहि ठुलो सानो भन्ने त हुदैन तैपनि उसलाई आर आर पढ्दा चियाको चुस्कीसगै राजनैतिक गफ चुटेर आफूलाई जानकार र बुद्धिमानी छु भन्दै पालेको आत्मरती ईण्डियनको भांडा उठाउदा पहिलो रातमै तातो पानीले जूठा भांडा पखालेजस्तै गरि पखालीदियो। अमेरिका आउँदा लागेको ऋण, बर्षेनी पानी चुहिने छानोको घर, आमाको त्यहि पुरानो पछ्यौरी, बाको दुईठाउंमा टालेको टोपी, भाई-बहिनिको पढाई सबै कुराले सुबोधलाई जस्तो सुकै काम गरेर भएपनि पैसा पठाउनु पार्ने बाध्यता थियो।